उत्तर अमेरिकामा आज दिउँसै अँध्यारो हुनेगरी खग्रास सूर्यग्रहण लाग्दै, नेपालमा बार्नु पर्छ कि पर्दैन ?

२०८० चैत २६ सोमबार ०६:३१:०० मा प्रकाशित

आज उत्तर अमेरिकामा दिउँसै अँध्यारो हुने गरी सूर्यग्रहण लाग्ने भएको छ । मेक्सिकोदेखि क्यानडाको पूर्वी किनारसम्म अप्रिल ८ तारिखको बिहान खग्रास सूर्यग्रहण लाग्ने अमेरिकी अन्तरिक्ष निकाय नासाले जनाएको छ । सूर्य र पृथ्वीबीचमा चन्द्रमा परेर सूर्यलाई पूरै छेकेको अवस्थामा खग्रास सूर्यग्रहण लाग्छ ।

त्यसबेला प्रभातकाल वा सन्ध्याकाल भए जसरी दिउँसै अँध्यारो हुन्छ । दिउँसै अँध्यारो हुने गरी लाग्ने खग्रास सूर्यग्रहण विरलै हुने गरेको छ ।
चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्ने गरी सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ । केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट पनि आकाश पूरै अँध्यारो हुन्छ ।
सबैभन्दा लामो खग्रास सूर्यग्रहण सात मिनेट ३२ सेकेन्डसम्म हुनसक्ने नासाले जनाएको छ । कुनै एक ठाउँबाट खण्डग्रास सूर्यग्रहण देखिएको झण्डै तीन सय ७५ वर्षपछि मात्रै त्यही ठाउँबाट अर्को खग्रास सूर्यग्रहण देखिन्छ । तर पृथ्वीको कुनै अर्को ठाउँमा भने चाँडै पनि हुन सक्छ ।    

आज (सोमबार) लाग्ने सूर्य ग्रहण नेपालमा बार्नु नपर्ने बताइएको छ । ज्योतिष सुरेशचन्द्र रिजालले सोमबारे औँसी परेकाले बिहान उठेर नबोली स्नान गर्नु शुभ र कार्य सफलताको योग भने रहेको बताए । 

‘आज बिहान विशेष शुभ दिन, ग्रहण बार्नु पर्दैन’, उनले भने, ‘आज सूर्य ग्रहण नेपालबाट नदेखिने हुँदा नेपालमा बार्नु पर्दैन तर, सोमबारे औँसी परेकाले बिहान उठेर नबोली स्नान गर्नु शुभ र कार्य सफलताको योग बन्ने छ।’