नयाँ शैक्षिकसत्र सुरु हुनै लाग्दा किन दोधारमा देखिन्छन् अभिभावक ?

२०८० चैत २७ मंगलबार ११:५३:०० मा प्रकाशित

हामी यतिबेला चैत महिनाको उत्तरार्धमा आइपुगेका छौँ । नयाँ वर्षले ढोका ढकढक्याउन लागिसकेको छ । मानिसहरूमा एकातिर नयाँ वर्षको छुट्टै उमङ्ग र हर्ष छ भने अर्कोतिर  विद्यालय जाने उमेर पुगेका बालबालिकाका अभिभावकमा भने चिन्ता र दोधारको अवस्था  पनि देख्न सकिन्छ । किनकी नयाँ वर्ष, नयाँ वर्षमात्रै नभएर नयाँ शैक्षिकसत्र पनि हो । आफ्ना नानीबाबुहरुको भविष्य उज्जवल बनोस् भन्ने चाहना सबै अभिभावकहरुमा रहेकै हुन्छ । यो कुरा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गएर शिक्षासँग पनि जोडिन्छ । आफ्ना नानीबाबुहरुलाई राम्रो शिक्षादीक्षा दिन सकिएन भने उज्जवल भविष्यको कल्पना, कल्पनामा मात्रै सीमित नहोला भन्न सकिँदैन । यसका लागि कुन र कस्तो शैक्षिक संस्था छनोट गर्ने भन्ने अन्योलता धेरै अभिभावकहरुमा देखिएको छ । अहिले हल्लाका पछि लागि हतारमा निर्णय गर्ने र फुर्सदमा पछुताउने बानी संस्कार नै बनिसकेको छ ।

आजभोलि संसार नै ग्ल्यामरमा भुलेको छ । अभिभावकहरु आफ्ना बच्चालाई अनुकूल हुने शैक्षिक संस्थाभन्दा पनि आफू हाइप्रोफाइल देखिने शैक्षिक संस्थाको खोजीमा हुनुहुन्छ । सायद विद्यालयहरुले पनि अभिभावकको यही मनोविज्ञान बुझेर होला त्यस्तै किसिमका आकर्षक  विज्ञापनहरु बजारमा ल्याइरहेका छन्, जुन दुर्भाग्यको कुरा हो । कुन विद्यालयको पोसाक आकर्षक  छ र आफ्ना नानीबाबुलाई सुहाउँछ, कुन विद्यालयको भवन कत्रो छ ? कक्षाकोठामा एसि फिट गरिएको छ/छैन ? विद्यालयका बस कति ओटा छन् ? फाइभ स्टार होटेलले झैँ सुविधा दिने क्यान्टिन छ/छैन ? स्विमिङ पुल छ/छैन ? त्यो विद्यालयमा आफ्ना नानीबाबुहरुलाई भर्ना गर्दा समाजमा ओहो ! फलानोको छोराछोरी त यो महङ्गो विद्यालयमा पढ्छन् नि ? भनेर ठूलो बन्न पाइन्छ/पाइदैन ? भन्ने जस्ता कुरालाई विद्यालय छनोटको आधार बनाउँदै गर्दा हामीले हाम्रा बालबालिकालाई के बनाउँदै छौँ ? के सिकाउँदै छौँ ? मेरो बच्चा के चाहन्छ भनेर कहिल्यै उसको मनोविज्ञानलाई बुझ्ने कोसिस गरेका छौँ ? कतै हामी आधुनिकताको नाममा बढी महत्वाकाङ्क्षी र स्वार्थी त बनिरहेका छैनौँ ? यसतर्फ अभिभावकले  सोच्नुपर्ने समय आइसकेको छ । अहिलेको समयमा बच्चा विद्यालय जाँदै गर्दा अथवा अभिभावकले  विद्यालय पठाउदै गर्दा नभई नहुने एवम् अत्यावश्यक सेवा सुविधा के–के हुन् ? भन्ने कुराको प्राथमिकीकरण गर्नु आवश्यक छ, यदि यसो नगर्ने हो र उहीँ ग्ल्यामरका पछाडि  दौडने हो भने शिक्षा पनि अब फेसनबाट अछुतो रहन सकेन ।

हामीले के बुझ्न जरुरी छ भने विद्यालयमा समय बिताउने भनेको अभिभावकले नभई  नानीबाबुहरुले हो । त्यसैले विद्यालय अभिभावकको छनोटभन्दा पनि बालबालिकाको रोजाइको हुनुपर्छ । विद्यालय भनेको एकदिन जाने ठाउँ होइन त्यहाँ त विद्यार्थी दिनहुुँ जानुपर्ने हुन्छ, हजारौँसँग घुलमिल हुनुपर्ने हुन्छ । त्यसैले विद्यालय छ्नोट गर्दा त्यहाँको वातावरण, त्यहाँका  शिक्षक कर्मचारी, त्यहाँ आउने विद्यार्थीहरु, शिक्षण विधि, संस्कार, अनुशासन, शिक्षाको  गुणस्तर, बालमैत्री वातावरणजस्ता कुरामा विशेष ध्यान दिनु जरुरी हुन्छ ।

विद्यालय त्यस्तो होस् जहाँ विद्यार्थीहरु मुस्कुराउँदै भित्र पसून्, अनि त्यस्तै मुस्कुराहटसहित घरमा फर्कियून, शिक्षक शिक्षिकाहई देख्दा डराउँदै काप्ने होइन आफ्नो संरक्षक र साथीजस्तो मानेर निर्धक्क भएर मनका कुरा साटासाट गर्न सकून्, सिद्धान्त घोक्न सक्ने होइन सिद्धान्त बनाउन सक्ने बनून्, पुरानो शिक्षण पद्धतिमा होइन नवीनतम् विधि र प्रविधिबाट सिक्न पाऊन्, विद्यालयको परीक्षामा होइन जीवनकै परीक्षामा सफल बन्न सकून्, विद्यालयको पढाइ सकिँदै गर्दा हातमा सर्टिफिकेटको कागजको खोस्टा मात्रै होइन यो प्रतिस्पर्धात्मक विश्व बजारमा बिक्न र टिक्न सकिने सिप पनि होस्, घरपरिवार बाहेक वरपर कोही नचिन्ने यान्त्रिक होइन सबैसँग घुलमिल हुनसक्ने संस्कारयुक्त सामाजिक प्राणी बन्न सकून् ।

यदि यी र यस्ता विशेषताहरु कुनै विद्यालयमा पाउनुभएको छ भने आँखा चिम्म गरेर निर्धक्कसँग आफ्ना नानीबाबुलाई त्यस विद्यालयमा भर्ना गर्न सक्नुहुनेछ र तपाईको यो निर्णयले तपाईलाई कहिल्यै पछुतो हुनेछैन । यसका लागि तपाईं आफैँ आफ्नो बच्चासहित सम्बन्धित विद्यालयको अवलोकनमा जानुहोस्, त्यहाँ पढिरहेका तथा भूतपूर्व विद्यार्थीको प्रतिक्रिया लिनुहोस्, त्यहाँ आफ्ना नानीबाबुहरु पढाइरहनुभएका अभिभावकलाई भेट्नुहोस्, विद्यालयको प्रगति विवरण हेर्नुहोस्, त्यहाँका शिक्षकशिक्षिकासँग एकछिन बसेर भलाकुसारी गर्नुहोस्, त्यहाँबाट पास आउट भइसकेका विद्यार्थीहरु कुन–कुन क्षेत्रमा छन् बुझ्नुहोस् र मन ढुक्क बनाउनुहोस् ।

विद्यालयको भूमिकाले मात्रै होइन आमाबुवाको व्यवहार र घरको वातावरणले पनि बच्चा कस्तो हुने भन्ने कुराको मोटामोटी ढाँचा बनिसकेको हुन्छ । तपाई आफ्ना बच्चाको साथी बनिदिनुस्, उसले सुनाएको कुरा खुसी भएर सुनिदिनुस्, देखाएको कुरा हेरिदिनुस्, राम्रो गरिराखेको छ भने प्रशंसा गरिदनुस्, नराम्रो गरिरहेको छ भने राम्रो गर्नका लागि प्रेरित गराउनुहोस् । अरुसँग तुलना गरेर तँ यस्तो र उस्तो भनेर निराश नबनाइदिनुहोस् । मिठो बोलिदिनुहोस्, उनीहरुको अगाडि झगडा कहिल्यै नगर्नुस्, समय समयमा विद्यालय जानुस्, उसले विद्यालयमा देखाउने व्यवहारहरुका बारेमा बुझ्नुहोस् । विद्यालयमा अतिरिक्त क्रियाकलाप हुँदा आफ्नो बच्चाले के कस्ता कुराहरु प्रति रुचि राखेर सहभागिता जनाएको छ त्यो बुझ्नुहोस् । विद्यालयबाट के कस्ता संस्कार सिक्यो कति व्यवहारिक ज्ञान हासिल गर्यो ? आफ्नो बच्चा यान्त्रिक बन्दै छ कि सामाजिक प्राणी बन्दै छ त्यो बुझ्नुहोस् । यति गर्नु भयो भने मात्रै तपाईँले एउटा असल अभिभावकको भूमिका निर्वाह गर्न सक्नुहुनेछ । आफ्नो सन्तानलाई असल मार्गमा डोरÞ्याउन सक्नुहुनेछ । अनि तपाईँले आफ्ना नानीबाबुहरुका लागि कल्पना गरेको समुज्ज्वल भविष्य आफ्नै आँखा अगाडि देख्नुहुनेछ ।

(लेखक बालकुमारी कलेज नारायणगढको सहायक प्राध्यापक हुन् ।)