गैँडाकोट ८ का चोक–चोकमा ट्राफिक संकेत चिन्ह, जेब्रा क्रस तथा डिभाइडर राखियो 

२०८० चैत २८ बुधबार १४:३६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट नगरपालिका वडा नम्बर ८ का चोक–चोकमा ट्राफिक संकेत चिन्ह, जेब्रा क्रस तथा डिभाइडर राखिएको छ ।

दुर्घटनाको जोखीम बढी रहेको र यसलाई कम गर्ने उद्देश्यले चोक–चोकमा ट्राफिक संकेत चिन्ह, जेब्रा क्रस तथा डिभाइडर राखिएको गैँडाकोट नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रेम सापकोटाले बताउनुभयो । बाटो साँघुरो हुनु र सवारीसाधनको चाप बढी भएको बताउँदै यसलाई कम गर्न पनि वडाका विभिन्न स्थानमा ट्राफिक संकेत चिन्ह, जेब्रा क्रस तथा डिभाइडर राखिएको वडा अध्यक्ष सापकोटाले बताउनुभयो । राखिएका संकेत चिन्हको पालना गर्नु हरेक नागरिकको दायित्व भएकोले सबैलाई सहयोग गर्न आह्वान गर्नुभयो । 

गैँडाकोट ८ स्थित नन्दन वडा स्तरीय टोल सञ्जालका अध्यक्ष शशिधर कँडेलले १७ वटा डिभाइडर ड्रम, १५ स्थानमा जेब्रा क्रस तथा १० वटा ट्राफिक संकेत होडिङ बोर्डहरु राखिने संयोजन गरेको जानकारी दिनुभयो । 

अस्थायी ट्राफिक प्रहरी पोष्ट गैँडाकोटका इन्चार्ज, प्रहरी नायब निरीक्षक दामोदर मल्लले ट्राफिक नियमबारे सचेत गराउँदै दुर्घटना न्युनिकरणका लागि सबैको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सवारी साधनको परीक्षणदेखी ट्राफिक नियमको पालनाबारे घरैबाट यसको विषयमा सचेत गराउन आवश्यक रहेको उहाँको भनाई थियो । लाइसेन्सबिना गाडी चलाए २ वर्ष सम्मको जेल सजाय हुने बताउँदै बालबालिका भए अभिभावकले समेत जेल सजाय भोग्नुपर्ने उहाँले बताउनुभयो । 

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी सहायक निरीक्षक सुभाष थापा मगर, सामुदायिक सेवा केन्द्रका प्रहरी हवल्दार चित्र कुमारी गुरुङ, नगर कार्यपालिका सदस्य कमला आचार्य, वडा सदस्यहरु खगेश्वर सापकोटा, शुसिला परियार, ११ वटै टोल विकास संस्थाका अध्यक्ष एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो । टोल सञ्जालका सचिव पद्मादेवी शर्मा सुवेदीले उद्घाटन कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । 

गैँडाकोट वडा नम्बर ८ को कार्यालय, नन्दन वडा स्तरीय टोल सञ्जाल, ईलाका प्रहरी कार्यालय गैँडाकोट, सामुदायिक सेवा केन्द्रको संयुक्त पहलमा ट्राफिक संकेत चिन्ह, जेब्रा क्रस तथा डिभाइडर राखिएको हो ।