गैँडाकोटमा रहेको डोरेमन मन्टेश्वरीका विद्यार्थीको दीक्षित समारोह 

२०८० चैत २८ बुधबार १५:२०:०० मा प्रकाशित


नवलपुर । गैँडाकोटमा रहेको डोरेमन मन्टेश्वरीका विद्यार्थी एक समारोहका बीच दीक्षित गरिएको छ । 

गैँडाकोट नगरपालिका वडा नम्बर ८ विजय चोकमा रहेको डोरेमन मन्टेश्वरीको युकेजीका ८ जना विद्यार्थी बुधबार दीक्षित भएका हुन् । मन्टेश्वरीले आज नतिजा प्रकाशनसँगै दिक्षान्त समारोह गरेको हो । 

२०७२ सालमा स्थापना भएको यस मन्टेश्वरीमा हाल ५२ जना बालबालिका अध्यनरत छन् । 

डोरेमन मन्टेश्वरीका सञ्चालक प्रेमप्रसाद सापकोटा ‘राजु’ले विद्यार्थीको चौतर्फी विकासका लागि मन्टेश्वरी सँधै प्रतिवद्ध रहेको बताउनुभएको छ । उहाँले बालबालिकाको शरीरिक, मानसिक र संवेगात्मक विकासमा मन्टेश्वरीले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ । 

गैँडाकोट नगर कार्यपालिका सदस्य कमला आचार्यले बालबालिका भोलीका कर्णधार रहेका भन्दै उनीहरुलाई सोही अनुरुपको शिक्षा दिन आग्रह गर्नुभएको छ । साथै स्थानीय सरकारबाट आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको उहाँको भनाई छ । 

गैँडाकोट ८ का वडा सदस्य तर्कबहादुर थापाले जरा बलियो भएमात्र रुख बलियो हुने भन्दै सोही अनुसारको शिक्षा र संस्कार दिन आग्रह गर्नुभएको छ । 

डोरेमन मन्टेश्वरीका प्रिन्सिपल सावित्री कंडेलले मन्टेश्वरीमा बालमैत्री र वातावरण मैत्री तरिकाले सिकाई हुने भएका कारण अभिभावकलाई ढुक्क हुन आग्रह गर्नुभएको छ । 

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अभिभावक दिनेश केसी, प्रतिमा चापागाई, विजय नन्दन टोल सञ्जालका अध्यक्ष शशिधर न्यौपान लगायतले मन्टेश्वरीको सिकाई क्रियाकलाप उत्कृष्ट रहेको बताउँदै आगामी दिनमा अझै सिर्जनात्मक बन्न शुभकामना दिनुभएको छ । 

कार्यक्रममा बालबालिकाले आफ्नो कला प्रर्दशनी समेत गरेका थिए । आफ्ना छोराछोरीको प्रतिभा देख्दा अभिभावक पनि उत्साहित देखिएका थिए । कार्यक्रमको सहजिकरण संसार सापकोटाले गर्नुभएको थियो ।