नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण ।। 

२०८० चैत ३० शुक्रबार ०६:१७:०० मा प्रकाशित

एसियाली विकास बैङ्क (एडिबी)ले आर्थिक वर्ष २०८०÷८१ मा नेपालको अर्थतन्त्र ३ दशमलव ६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ । 
बैङ्कले आफ्नो प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक’ (एसियाली विकास परिदृश्य) २०८० सार्वजनिक गर्दै गत आर्थिक वर्ष २०७९÷८० को तुलनामा १ दशमलव ९ प्रतिशतले वृद्धि भइ नेपाली अर्थतन्त्र क्रमशः सुधारको बाटोमा अघि बढेको जनाएको हो । 

यसअघि विश्व बैङ्कले चालु आर्थिक वर्षमा ३ दशमलव ३ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्धि हुने प्रक्षेपण गरेको थियो । पछिल्लो ६ महिनामा पुँजीगत खर्चमा तीव्रता दिने नीतिगत व्यवस्थाका कारण अर्थतन्त्र क्रमशः सुधारको दिशामा अघि बढेको बैङ्कले स्पष्ट गरेको छ ।

एडिबी नेपालका प्रमुख अर्थशास्त्री इयान हासिनले गरिबी निवारण, जलवायु परिवर्तन, ऊर्जा क्षेत्रसहित समृद्ध एवम् समावेशी नेपालका पक्षमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।