विजय सामुदायिक शिक्षा सदनमा २ सय २५ पुरस्कृत 

२०८१ बैशाख १ शनिबार ०७:१६:०० मा प्रकाशित


नवलपुर । गैँडाकोटमा रहेको विजय सामुदायिक शिक्षा सदनले विभिन्न ११ विधामा २ सय २५ जनालाई पुरस्कृत गरेको छ । 

शुक्रबार एक समारोहका बीच विद्यालयले परिक्षाको नतिजा प्रकाशनका साथै विभिन्न विधामा अभिभावक, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको हो । सर्वाेत्कृष्ट विद्यालय उपस्थिति, सरसफाई, अङ्ग्रेजी र नेपालीभाषामा उत्कृष्ट वाचन, घरबाटै स्वस्थकर खाजा लगायतका विभिन्न विधामा सम्मान गरिएको छ ।  

विजय सामुदायिक शिक्षा सहकारी संस्थाका अध्यक्ष खेमराज सापकोटाले बिद्यार्थीको चौतर्फी विकासका लागि बिद्यालय अनवरत रुपमा अगाडी बढेको बताउँदै आगामी दिनमा अझै उत्कृष्ट सिकाइ उपलब्धी हासिल गर्ने गरि अघि बढ्ने बताउनुभएको छ । 

शुभकामना मन्तव्य राख्दै विजय सामुदायिक शिक्षा सदनका प्रधानध्यापक रेखा श्रेष्ठले विद्यालयको शैक्षिक, भौतिक विकासका लागि आगामी बर्ष विशेष योजना बनाएर अगाडी बढ्ने बताउनुभएको छ । 

गैँडाकोट नगरपालिकाका वडा नम्बर ५ का वडा अध्यक्ष रत्नप्रसाद सापकोटाले बालबालिकाको क्षेत्रमा वडाले विभिन्न काम गर्ने गरेको बताउँदै विद्यालयको हरेक क्षेत्रमा सहयोग गर्न स्थानीय सरकार तयार रहेको बताउनुभएको छ ।  

कार्यक्रममा निवर्तमान अध्यक्ष टिकाराम कंडेल, शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्दप्रसाद घिमिरे,  सहायक प्रधानध्यापक चक्रधर पौडेल एवं अभिभावक, शिक्षक कर्मचारी, बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।