नन्दन वन क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर, सतर्कता अपनाउन आग्रह

२०८१ बैशाख २ आइतबार १३:०६:०० मा प्रकाशित

गैँडाकोट । गैँडाकोट स्थित नन्दन सामुदायिक वन क्षेत्रमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । गैँडाकोट ८ र ९ देखी उत्तरतर्फ नारायणी वन सिमा क्षेत्रमा लागेको आगो निभाउने प्रयास विफल भएको हो ।

समूहका उपभोक्ताले अथक प्रयास गरेपनि आगो नियन्त्रणमा लिन असम्भव जस्तै देखिएको नन्दन सामुदायिक वनका अध्यक्ष बालकृष्ण गौडलले जानकारी दिनुभयो । आगो नियन्त्रणमा लिनको लागि विपरित दिशाबाट आगो लगाउने (एन्टी फायर) शुरु गरेको पनि उहाँले बताउनुभयो । भिरालो जमिन भूगोलका कारण दमकलको प्रयोग गर्न नसकिएको उहाँले बताउनुभयो । 

वनबाट बस्तीमा आगो पस्न सक्ने खतरा रहेकोले सावधानी अपनाउन र सुरक्षित रहन वनका अध्यक्ष बालकृष्ण गौडलले आग्रह गर्नुभयो । वनमा आगोका कारण भएको क्षतिको विवरण आइसकेको छैन ।