सहमतिको निरन्तर सहयोग, समुदाय र मानवता विकासका लागि प्रतिवद्ध 

२०८१ बैशाख २ आइतबार १६:२५:०० मा प्रकाशित

गैँडाकोट । समुदाय र मानवता विकासका लागि प्रतिवद्ध गैँडाकोट स्थित सहमति संस्थाले तीन वटा संस्थालाई सहयोग गरेको छ । 

मानसिक तथा शारीरिक असक्त भएका व्यक्तिहरुलाई खाना खुवाउनेदेखी परोपकारी संस्था रेडक्रस र शैक्षिक संस्था विद्यालयलाई ल्यापटप हस्तान्तरण सम्मका कार्यक्रम गरेको हो । जनताको आधारभूत अधिकारहरुको शुनिश्चितताका लागि स्थापनाकाल (२०५८ साल) देखी नै सहमतिले समुदाय र मानवता विकासका लागि काम गर्दै आएको सहमति संस्थाका अध्यक्ष होमनाथ सुवेदीले बताउनुभयो । 

आइतबार गैँडाकोट नगरपालिका –१ स्थित “अपाङ्ग जीवन विकास संस्था” मा रहेका वृद्ध–वृद्धा, मानसिक तथा शारीरिक असक्त भएका व्यक्तिहरुलाई खाना खुवाएको हो । संस्थालाई सहमतिका अध्यक्ष होमनाथ सुवेदी र सहमतिका पूर्व अध्यक्ष एवं संल्लाहकार संयोजक भिम प्रसाद शर्माले संयुक्त रुपमा ११ हजार रुपैयाँको चेक “अपाङ्ग जीवन विकास संस्था” का अध्यक्ष बालकृष्ण सापकोटालाई हस्तान्तरण गर्नुभएको थियो । 

त्यस्तै सहमतिको सोही टिमले नेपाल रेडक्रस सोसाइटी, आर्दश उपशाखा, गैँडाकोट २ लाई कार्यालय व्यवस्थापनका लागि एक थान ल्यापटप हस्तान्तरण गरेको छ । नेपाल रेडक्रस सोसाइटी, आर्दश उपशाखाका अध्यक्ष उमाकान्त सापकोटाले आवश्यक समयमा ल्यापटप प्रदान गरी सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो । 

त्यसैगरी श्री विजय आधारभूत विद्यालय, गैँडाकोट ८ लाई विद्यार्थीको पठन–पाठनमा सहयोग पु¥याउने हेतुले एक थान ल्यापटप समेत हस्तान्तरण गरेको छ । उहाँहरुले विद्यालयका प्रधानाध्यापक सरस्वती पाण्डे, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर पौडेललाई विद्यालयमा नै पुगी सो ल्यापटप हस्तान्तरण गर्नुभएको हो ।  

सबै कार्यक्रमको सहजिकरण सहमति संस्थाका उपाध्यक्ष नगेन्द्र प्रसाद रिजालले गर्नु भएको थियो । सहयोग सामग्री हस्तान्तरण कार्यक्रममा सहमतिका कोषाध्यक्ष तारा देवी शर्मा, कार्य समिति सदस्य कृष्ण रिजाल लगायत कर्मचारीहरुको उपस्थिति थियो ।

यसअघि कालिका मान्दिर कालिका आश्रममा समेत ल्यापटप हस्तान्तरण गरेको थियो । सहमतिले आर्थिक विकास, जीविकोपार्जन, सुशासन, पैरवीसँगै वातावरण संरक्षण र प्रकोप जोखिम न्यूनिकरण लक्षित कार्यक्रम गर्दै आएको छ ।