वक्त्तृत्वकलामा कन्टिनेन्टलका निर्भिक पौडेल प्रथम

२०८१ बैशाख २ आइतबार १७:५३:०० मा प्रकाशित


नवलपुर। “वर्तमान अवस्थामा आध्यात्मिक एवं नैतिक शिक्षाको आवश्यकता” विषयमा भएको वक्त्तृत्वकला प्रतियोगितामा कन्टिनेन्टल इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालय प्रथम भएको छ । 


कालिका मन्दिर कालिका आश्रमले आयोजना गरेको माध्यमिक विद्यालय गैंडाकोट नगर स्तरीय वक्त्तृत्वकला प्रतियोगितामा कन्टिनेन्टल इङ्गलिस बोर्डिङ माध्यमिक विद्यालयका निर्भिक पौडेल प्रथम हुनुभएको हो । त्यस्तै विजय सामुदायिक शिक्षा सदनका संसार सापकोटा द्वितीय हुुनुभएको छ ।

प्रतियोगितामा गैँडाकोट नमुना माध्यमिक विद्यालयका पुष्पा तिमल्सिना तृतीय हुनुभएको छ भने सान्त्वना जनक नमुना माध्यमिक विद्यालयका समिक्षा पञ्जीयारले हात पार्नुभएको गैँडाकोट नगर प्रज्ञा प्रतिष्ठानका उपकूलपति एवं निर्णायक संयोजक गोविन्दराज विनोदीले जानकारी दिनुभयो । 


विजयीलाई क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार पुरस्कार प्रदान गरिएको थियो । विद्यार्थीले वर्तमान अवस्थामा भएको हिंसा, बलात्कार, मानसिक समस्या, भष्ट्रचार लगायतका विसङ्गती कम गर्नका लागि पनि आध्यात्मिक एवं नैतिक शिक्षाको आवश्यकता रहेको तर्क राखेका थिए । 


आइतबार मन्दिरले ४८ औँ वार्षिकोत्सव समुद्घाटन समारोह तथा वक्त्तृत्वकला प्रतियोगिता आयोजना गरेको थियो । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपालिकाका नगरप्रमुखले विद्यालयहरुले किताबी ज्ञानसँगै नैतिक र आध्यात्मिक शिक्षा पनि दिनुपर्नेमा जोड दिनुभएको थियो । 


कार्यक्रममा मन्दिरका पूर्व अध्यक्ष धनप्रसाद सापकोटा, सल्लाहकार इन्द्रराजज्योती पौडेल, कालिका नमुना माविका अध्यक्ष गंगाधार सापकोटा, कालिका संस्कृत विद्यापीठका प्राचार्य रामचन्द्र कँडेलले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम मन्दिरका अध्यक्ष पिताम्बर सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
मन्दिरका उपाध्यक्ष पशुपति सापकोटाको स्वागत मन्तव्य एवं सचिव दयासागर सुवेदीले सहजिकरण गर्नुभएको सो कार्यक्रममा संस्थापक गौरिश्वर आचार्यलाई सम्मान गरिएको थियो । 


४८ औं वार्षिकोत्सव अन्तर्गत मन्दिरले ३ गते (भोली) बिहान ८ बजेदेखि रुद्री पूजा, १० देखि १ बजेसम्म सत्सङ्गको वार्षिकोत्सव कार्यक्रम, १ बजेदेखि २४ घण्टे अखण्ड श्रीहरिनामसङ्किर्तन समुद्घाटन, ४ गते दिउँसो १ बजे अखण्ड श्रीहरिनामसङकिर्तन तथा वार्षिकोत्सव समारोह समापनको साथै हवन, पूर्णाहुति तथा फूल प्रसाद वितरण कार्यक्रम रहेको छ ।