यस वर्ष ३ वटा दशैँ, भोली बिदा, अर्को चैते दशैँमा गण्डकी प्रदेश मौन 

२०८१ बैशाख ३ सोमबार १५:२५:०० मा प्रकाशित

गैँडाकोट । गण्डकी प्रदेश सरकारले भोली (वैशाख ४ गते मंगलबार) चैते दशैँका अवसरमा सार्वजनिक बिदा दिएको छ । 

गतवर्ष (२०८०) मा भने प्रदेश सरकारले चैते दशैँ बिदा कटौती गरेको थियो । २०७९ सालमा भने चैते दशैँ बिदा दिएको थियो । गण्डकी प्रदेश सरकारद्वारा गत चैत ९ मा प्रकाशित प्रदेश राजपत्रमा ३ दिन बिदा दिने उल्लेख छ । जस अन्तर्गत चैते दशैँ पनि उल्लेख छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उप सचिव प्रवीण ढकालले सार्वजनिक विदा दिइएको सूचना जारी गर्नुभएको छ । 

यो वर्ष विक्रम संवत् २०८१ मा तीनवटा दशैँ परेका छन् । यो वर्ष चैत्र शुक्ल पक्षमा पर्ने २ वटा चैते दशैँ परेको छ । अर्को चैते दशैँ आउँदो चैत्र २३ गते शनिबार परेको छ । तर उक्त दिन बिदा दिने बारेमा भने प्रकाशित प्रदेश राजपत्र र सूचनामा कुनै कुरा उल्लेख गरिएको छैन ।  

चैते दशैँ नेपालका अधिकांश भागहरूमा धूमधामसँग देवीको पूजाआजा गरेर मनाउने गरिन्छ । चैत्र शुक्ल र आश्विन शुक्ल पक्षमा पर्ने दशैँलाई वैदिक सनातन धर्मावलम्बी नेपालीले ठूलो चाडका रूपमा मनाउँछन् ।

बडादशैँका रूपमा मनाइने आश्विन शुक्ल पक्षको दशैँ भने यस वर्ष असोज १७ गते बिहीबार घटस्थापना गरेर सुरु हुने भएको छ । असोज २४ गते बिहीबार फूलपाती, २५ गते महाअष्टमी र महानवमी तथा असोज २६ गते शनिबार विजयादशमी परेको छ । 

बडा दशैँ अन्तर्गतको कार्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन भने गण्डकी प्रदेश सरकारले प्रदेशभरका लागि बिदा घोषणा गरिसकेको छ ।