आगामी बिहीवार र शुक्रवार ५ वर्षमुनिका बालबालिकालाई भिटामिन ए खुवाइँदै

२०८१ बैशाख ४ मंगलबार १८:१२:०० मा प्रकाशित


सरकारले आगामी बिहीवार र शुक्रबार अर्थात वैशाख ६ र ७ गते देशभर दोस्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

७ सय ५३ वटा स्थानीय तहबाट  राष्ट्रिय भिटामिन ‘ए तथा जुकाको औषधि खुवाउने भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखा अन्तर्गतको पोषण शाखा प्रमुख लीलाविक्रम थापाले यो दुई दिनमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने जानकारी दिनुभयो । यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाखभन्दा बढी बालबालिकाहरूलाई जुकाको औषधि खुवाइने छ ।

भिटामिन ए र जुकाको औषधि स्थानीय तहले विद्यालय वा नजिकको स्वास्थ्य केन्द्रबाट औषधि खुवाउनेछन् । यो कार्यक्रममा देशभरिका ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिनेछ ।

 बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्न सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए कार्यक्रम सञ्चालन गर्दै आएको छ । जुकाको औषधि भने २०५६ बाट खुवाउन थालिएको हो ।

भिटामिन ‘ए को कमीले बालबालिकाको वृद्धि विकासमा असर, रतन्धो, कुपोषण, दीर्घरोग, रोगविरुद्ध लड्ने क्षमतामा कमी जस्ता समस्या हुन्छन् ।