मेघौलीका नेचर गाइड अधिकारीको लाइसेन्स निलम्बन

२०८२ जेठ ४ शनिबार १२:४४:०० मा प्रकाशित

चितवन । चितवन राष्ट्रिय निकुञ्जले नियम विपरित काम गरेका मेघौलीका एक नेचर गाइड (प्रकृति पथ प्रदर्शक) को अनुमतिपत्र (लाइसेन्स) एक महिनाको लागि निलम्बन गरेको छ ।


निकुञ्जले मेघौली घटगाइ नेचर गाइड एशोसियसनलाइ पत्र पठाउदै नेचर गाइड हरि प्रसाद अधिकारीले पटकपटक नियम विपरित काम गर्दा सचेत गराउदा पनि अटेरी गरेपछी एक महिनाको लागि अनुमती पत्र निलम्बन गरिएको जनाएको छ । अधिकारीले पटकपटक नेचरगाइडले पालना गर्नुपर्ने आचरण उलंघन गरेको पाइएकोले एक महिनाको लागि उनको अनुमती पत्र निलम्बन गरिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिनुभयो । 

 

 निकुञ्जको गस्ती टोलीले गत वैशाख ३० गते राप्ती नियन्त्रण मध्यवर्ती सामुदायिक वनको क्षेत्रमा निषेधित कार्य गरिरहेको अवस्थामा भेटेपछि नेचर गाइड अधिकारीको लाइसेन्स जफत गरेको थियो । निकुञ्जका अनुसार अधिकारीले जोखिमपूर्ण मानिने राप्ती किनारमा योगा गराउने लगायतका निषेधित कार्य गराउदै आइरहेका थिए । हाल मेघौली घटगाइ नेचर गाइड एशोसियसनमा १०० जना नेचर गाइड आवद्ध रहेका छन् ।