बाघ गणनाका लागी प्रयोगमा राखिएका ६० क्यामेरा हराए
चितवन । चितवन र पर्सा राष्ट्रिय निकुञ्ज कम्प्लेक्समा बाघ गणनामा प्रयोग गरिएका ६० वटा क्यामेरा हराएका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार ८५ क्यामेरामध्ये ६० वटा हराएका र २५ वटा बिग्रेका हुन्।
उहाँले चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा एक हजार ७ सय ८० वटा क्यामेरा प्रयोग गरिएको बताउनुभयो । गत पुस ३ गतेदेखि सुरु गरिएको बाघ गणना बिहीबार सम्पन्न भएको छ ।
थापा मगरका अनुसार दुई वटा राष्ट्रिय निकुञ्जलाई एउटा कम्प्लेक्स र एउटा कम्प्लेक्सलाई तीन ब्लकमा विभाजन गरी बाघ गणना गरिएको थियो । यस कम्प्लेक्सलाई ९ सय ५८ वटा ग्रिड बनाएर बाघ गणना गरिएको थियो । ती ग्रिडमा प्रयोग गरिएका क्यामेरामध्ये ८५ क्यामेरा समस्याग्रस्त भएका थापा मगरले बताउनुभयो ।
उहाँका अनुसार एउटा ब्लकमा १७ रात क्यामेरा राखेर काम गरिएको थियो । दुई वर्ग किलोमिटर क्षेत्रलाई एउटा ग्रिड बनाएर गणना गरिएको हो ।
यसअघि, सन् २०२२ मा गरिएको बाघ गणनामा नेपालमा ३ सय ५५ वटा वयस्क बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । उक्त गणनामा चितवनमा १ सय २८, बर्दिया निकुञ्जमा १ सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएका थिए । रासस