शिक्षक संगठनको आयोजनामा जिल्लास्तरीय योजना कार्यशाला सम्पन्न
गैंडाकोट । नेपाल राष्ट्रिय शिक्षक संगठन नवलपुरको आयोजनामा भएको एकदिने जिल्ला स्तरीय योजना कार्यशाला गोष्ठी शनिबार जनता मा. वि हर्कपुरमा सम्पन्न भएको छ । जिल्ला संगठनको अध्यक्ष टिकाराम डुम्रेको अध्यक्षता र संगठनका गण्डकी प्रदेशका उपाध्यक्ष बलराम रानाभाटको प्रमुख आतिथ्यतामा भएको सो कार्यशालामा संगठन सुदृढिकरण र संगठन बारेमा जानकारीमूलक कार्यशाला सञ्चालन गरिएको थियो ।
कार्यक्रममा संगठनको वर्तमान अवस्थाको बारेमा अध्यक्ष टिकाराम डुम्रे, महिला शिक्षक र संगठनको बारेमा सीता पाण्डे, शिक्षक संगठन र महासंघको सम्बन्धको बारेमा नवलपुर जिल्ला महासंघका सचिव गिरीराज गिरी, आम निर्वाचनमा शिक्षक संगठनको भूमिकाका सम्बन्धमा संगठनका पूर्व अध्यक्ष हरिप्रसाद न्यौपाने, संगठनको जिल्लाको इतिहास र वर्तमान अवस्थाको बारेमा संगठनका पूर्व जिल्ला अध्यक्ष शिव प्रसाद देवकोटा, पार्टि र संगठनबिचको सम्बन्धको बारेमा संगठनका पूर्व अध्यक्ष एवम् नेकप एमाले जिल्ला सदस्य नरदेव न्यौपाने र संगठनको समसामायिक विषयमा प्रदेश समितिका उपाध्यक्ष बलराम रानाभाटले कार्यपत्र पेश गर्नुभएको थियो ।

संगठनको जिल्ला उपाध्यक्ष पदम खड्काले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको सहजीकरण संगठनकी जिल्ला सचिव कल्पना भण्डारीले गर्नुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथी नेकपा एमाले प्रदेश कमिटीका सदस्य एवम् गैंडाकोट नगरपालिकाका संस्थापक नगर प्रमुख छत्रराज पौडेल, नेपाल शिक्षक महासंघ नवलपुरका उपाध्यक्ष हिमाल देव पंगेनी, संगठनको केन्द्रिय प्रतिनिधी दुर्गा सापकोटा लगायतले शिक्षकहरुको शैक्षिक अधिकार र दायित्वको बारेमा बिचार व्यक्त गर्नुभएको थियो ।
जिल्लास्तरका विभिन्न पालिकाबाट शिक्षक नेतृत्वको सहभागिता रहेको कार्यशालाले संगठन सुदृढीकरणका लागि १० बुँदे सुझाव पारित गर्दै कार्यान्वयनका लागि सम्बन्धित पक्षलाई आग्रह समेत गरेको छ ।