गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न
गैँडाकोट, ०९ फागुन । गैँडाकोटमा २७औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा मातृभाषामा रचना वाचन कार्यक्रम–२०८२ सम्पन्न भएको छ । नेपाल मगर लेखक संघ गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार किसान बचत सहज सेवा केन्द्र, गैँडाकोट–४ मा कार्यक्रम गरिएको हो ।
कार्यक्रम नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् गैँडाकोटको समन्वय तथा नेपाल मगर संघ नगर समिति गैँडाकोट, नवलपुरको सहकार्यमा सम्पन्न भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर लेखक संघका केन्द्रीय भाषिक उपाध्यक्ष इर्राधा झाँक्री मगर रहनुभएको थियो भने कार्यक्रमको सभाध्यक्षता नेपाल मगर लेखक संघ गण्डकी प्रदेशका अध्यक्ष खड्का पामी आले मगरले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि झाँक्रीले गण्डकी प्रदेशमा मगर भाषालाई सरकारी भाषाका रूपमा प्रयोगमा ल्याउन सफल भएको उल्लेख गर्दै अन्य प्रदेशहरूमा पनि विभिन्न जातजातिका भाषालाई सरकारी कामकाजमा प्रयोगमा ल्याउन अभियान चलाउनुपर्ने बताउनुभयो । उहाँले सबै जातजातिले आफ्नो मातृभाषा संरक्षण र प्रवद्र्धनमा सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
सभाध्यक्ष आले मगरले भाषा संरक्षण गर्न नसके सांस्कृतिक अस्तित्व नै संकटमा पर्ने बताउँदै सम्पूर्ण जनजाति समुदाय सचेत र सक्रिय हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न आदिवासी जनजातिको प्रतिनिधित्व गर्दै सहभागीहरूले आफ्ना मातृभाषामा रचना वाचन गरेका थिए । मोतिराम थामित, लक्ष्मीप्रसाद चोंधरी, श्रीमाया श्रेष्ठ, धनबहादुर गुरुङ, तिलबहादुर थापा मगर, महेन्द्र थापा मगर, अमृता मगरलगायतले रचना प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी नेपाल मगर संघ जिल्ला समन्वय समिति अध्यक्ष बेलबहादुर सारु मगर, नेपाल मगर संघ गैँडाकोट नगर समितिका संरक्षक केहरसिं राना मगर, क्षेत्रीय गुरुङ संघका पदमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशकी सह–कोषाध्यक्ष सुस्मिता थापा मगर, रेसमकुमार श्रेष्ठ, पूर्णमाया भुजेललगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नेपाल मगर लेखक संघ गैँडाकोट नगर समितिका अध्यक्ष तिकाराम मगरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सहजीकरण रोशन दर्लामी मगरले गर्नुभएको थियो ।